दफा १४
पुनरावेदन सुन्ने र साधक जाँच्ने अदालतको अधिकार
(१) यो ऐन वा प्रचलित कानून बमोजिम पुनरावेदन सुन्ने अदालत र साधक जाँच्ने अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछ:
(क) मातहतका अदालत, निकाय वा अधिकारीको निर्णय सदर वा आंशिक वा पूरै बदर गर्ने,
(ख) मातहतका अदालत, निकाय वा अधिकारीले गर्न पाउने फैसला वा अन्तिम आदेश गर्ने,
(ग) मुद्दामा इन्साफ गर्नुपर्ने प्रश्नसँग सम्बद्ध प्रमाण मातहतका अदालत, निकाय वा अधिकारीले बुझ्न छुटाएको रहेछ भने आफैंले बुझ्ने वा मुद्दाको लगत कायमै राखी ती प्रमाणहरु बुझ्न मिसिल तल्लो अदालत, निकाय वा अधिकारीसमक्ष पठाउने,
(घ) मातहतका अदालत, निकाय वा अधिकारीले मुद्दामा निर्णय गर्नुपर्ने प्रश्नमध्ये केहीमा निर्णय गरी र केहीमा निर्णय नगरी फैसला गरेको रहेछ भने मनासिब समय तोकी बाँकी प्रश्नको समेत निर्णय गरी मुद्दा किनारा गर्नु भनी मिसिल सम्बन्धित अदालत, निकाय वा अधिकारीसमक्ष पठाउने ।
(२) उपदफा (१) को खण्ड (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला अदालत र उच्च अदालतले आफू समक्ष परेको मुद्दामा मातहतका अदालत, निकाय वा अधिकारीले निर्णय गर्न छुटाएको प्रश्नमा समेत प्रवेश गरी निर्णय गर्न सक्नेछ ।